१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० पालिकाको प्रमुख पदमा महिला उम्मेदवार उठाउने लक्ष्य पार्टीले लिएको बताएका छन्।
शनिबार नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै थापाले महिलाको राजनीतिक सहभागिता र नेतृत्वलाई सशक्त बनाउन कांग्रेसले विशेष तयारी थालेको जानकारी दिए। उनका अनुसार ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने उद्देश्यसहित पार्टी अघि बढिरहेको छ।
यो लक्ष्य हासिल गर्न अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र संगठन विस्तारमा जोड दिनुपर्ने उनले बताए। थापाले सबै नेता–कार्यकर्तालाई महिला नेतृत्व निर्माणका लागि सक्रिय रूपमा लाग्न आग्रह गरे।
उनले उम्मेदवारको क्षमता विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको जानकारी दिँदै स्थानीय तहको निर्वाचन लड्न चाहने सबै इच्छुक व्यक्तिले उक्त एकेडेमीको निर्धारित कोर्स अनिवार्य रूपमा पूरा गर्नुपर्ने बताए। कोर्स पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने उनको भनाइ छ।
थापाले योग्य र सक्षम नेतृत्व उत्पादनमार्फत कांग्रेसलाई आगामी निर्वाचनमा थप प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको समेत बताए।



