१५ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि थप कर लगाउँदा उनीहरू र उनका परिवारलाई अतिरिक्त आर्थिक भार पर्ने तथा यसले स्वास्थ्य सेवामा पहुँच झन् कठिन बनाउने जनाएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा विगतमा चिकित्सक संघको पहलपछि यस्तै प्रकृतिको कर फिर्ता गरिएको स्मरण गराउँदै पुनः सोही व्यवस्था बजेटमा समावेश गरिनु खेदजनक भएको उल्लेख छ।
चिकित्सक संघले उक्त निर्णयले बिरामीमाथि अन्याय हुने ठहर गर्दै ‘स्वास्थ्य समता शुल्क’ सम्बन्धी व्यवस्था अविलम्ब खारेज गर्न सरकारसँग माग गरेको छ।






