१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार र आपत्तिजनक भनेको छ।
प्रधानमन्त्री शाहले संसद्को रोष्टमबाट “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको प्रति प्रतिक्रिया जनाउँदै कांग्रेसले ऐतिहासिक तथ्य, प्रमाण र संवैधानिक अडानविपरीतको भनाइ भएको दाबी गरेको छ। कांग्रेसले उक्त अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याएको आरोप लगाएको छ।
कांग्रेसद्वारा जारी वक्तव्यमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भूमिको विषयलाई लिएर प्रधानमन्त्रीको भनाइले नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाउने र कूटनीतिक प्रक्रियामा समेत नकारात्मक असर पार्ने उल्लेख गरिएको छ।
त्यसैगरी, प्रधानमन्त्रीले सीमा समस्या सम्बन्धी विषयमा बेलायतसँग कुरा भइरहेको भन्ने दाबी गरेको विषयलाई समेत कांग्रेसले आपत्तिजनक र हास्यास्पद भनेको छ। कूटनीतिक विषयमा स्थापित संयन्त्र र प्रक्रियालाई नजरअन्दाज गरिएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ।
कांग्रेसले प्रधानमन्त्रीले संसद्मा बोलेका अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत भनाइ हो भन्ने स्पष्ट गर्नुपर्ने माग पनि गरेको छ। साथै, यस विषयमा प्रधानमन्त्री र सरकारले तत्काल संसद् तथा जनतासमक्ष स्पष्टीकरण दिनुपर्ने उसले जनाएको छ।
कांग्रेसले सीमा समस्या समाधान वार्ता र कूटनीतिक माध्यमबाट मात्र गर्नुपर्नेमा जोड दिँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सम्मान गर्दै समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेको छ।







