१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् उपभोगमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नहुने स्पष्ट पार्दै त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्न नदिने गरी सरकार अघि बढ्ने बताएका छन्। साथै उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (ईभी)को मूल्य घट्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रमा लगाइएको भ्याट दीर्घकालीन आर्थिक सुधारको हिस्सा भएको उल्लेख गरे। उनले भ्याट कायम रहने भए पनि अन्तिम उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने गरी आवश्यक व्यवस्था गरिने बताए।
उनका अनुसार विद्युत् महसुल समायोजन वा निश्चित युनिटसम्मको सहुलियत जस्ता विकल्पमार्फत उपभोक्तालाई राहत दिने विषयमा सरकारले विद्युत् महसुल आयोगसँग समन्वय गर्नेछ। सरकारको उद्देश्य राजस्व सुधारसँगै उपभोक्ताको हितलाई समेत संरक्षण गर्नु रहेको उनको भनाइ थियो।
वाग्लेले बजेटमा समेटिएका केही निर्णय तत्काल लोकप्रिय नदेखिए पनि दीर्घकालीन रूपमा मुलुकको आर्थिक हितमा रहेको दाबी गरे। उनले सरकारले आवश्यक साहसिक निर्णय लिएको उल्लेख गर्दै तथ्यभन्दा बाहिर गएर टिप्पणी नगर्न आग्रह गरे।
कार्यक्रममा उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनको मूल्य घट्ने जानकारी पनि दिए। बजेटमा गरिएको कर तथा भन्सारसम्बन्धी व्यवस्थाले साना तथा मध्यम वर्ग लक्षित ईभीको बजार मूल्य घटाउन सहयोग पुग्ने उनको विश्वास छ।





