२६ जेठ, काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगी मुद्दामा संगठित अपराधसम्बन्धी आरोप हटाउने आदेश दिएको छ।
सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ताको निर्णय अनुसार आरोपपत्र संशोधनका लागि दिएको निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले सो आदेश जारी गरेको हो।
यसअघि सानो पाइला सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध संगठित अपराधसहितको अभियोग दायर गरिएको थियो। तर अदालतको पछिल्लो आदेशपछि उक्त अभियोग हटाइएको छ।
आदेशसँगै अब मुद्दालाई सहकारी ठगीसम्बन्धी पक्षमा मात्र अघि बढाउने र पीडित तथा आरोपितबीच मिलापत्रको सम्भावनासमेत खुला भएको जनाइएको छ।
यसअघि सरकारी वकिलको कार्यालयले करिब ५ करोड ७४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।





