३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका केही जिल्ला र क्षेत्रका लागि समय थप गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले भौगोलिक कठिनाइ र प्राविधिक समस्यालाई ध्यानमा राख्दै केही जिल्लामा असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरेको हो।
निर्णयअनुसार इन्टरनेट पहुँच न्यून भएका उच्च हिमाली जिल्लाहरू, विकट पहाडी क्षेत्रका केही पालिका तथा बारा र खोटाङ जिल्लामा असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न पाइनेछ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो अवधि असार १० गतेसम्म कायम गरिएको छ।
कांग्रेसका अनुसार हालसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण डिजिटल प्रणालीमा अद्यावधिक भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको विवरण वडा तहबाट अन्तिम अद्यावधिक प्रक्रियामा रहेको बताइएको छ।
अनलाइन प्रणालीमा प्रविष्ट हुन बाँकी रहेका सदस्यता फारामहरू असार ५ गतेभित्र अनुमोदन गरिसक्न सम्बन्धित वडा समितिलाई निर्देशन दिइएको छ। साथै, सदस्यता शुल्क नबुझाएका क्रियाशील सदस्यले समयमै शुल्क बुझाउनुपर्ने र अन्यथा १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय पनि गरिएको छ।
त्यसैगरी, वडा तहबाट अद्यावधिक हुन छुटेका सदस्यहरूले प्रमाणसहित असार २० गतेसम्म केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वडा समितिहरूलाई पनि आफ्नो क्षेत्रमा छुटेका सदस्यको संख्या उल्लेख गरी सात दिनभित्र केन्द्रीय कार्यालयमा इमेलमार्फत जानकारी गराउन आग्रह गरिएको छ। समितिले प्राप्त विवरणका आधारमा आवश्यक परे थप समय उपलब्ध गराउन सकिने जनाएको छ।







