अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : अमेरिका-इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुन्छ

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुने दाबी गरेका छन् ।

उनले सम्झौता भएपछि विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज सबैका लागि खुला हुने बताएका छन् ।

सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जनाएको छ ।

तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बघाईले सम्झौता हस्ताक्षरको मितिबारे अझै निश्चितता नभएको भन्दै सावधानी अपनाउन आग्रह गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सम्झौता नजिक पुगेको बताएका छन् ।

प्रस्तावित सम्झौतामा लेबनानमा हिज्बुलाह र इजरायलबीचको द्वन्द्व अन्त्य, हर्मुज पुनः सञ्चालन तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको बताइएको छ ।

यद्यपि, इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता पछि सुरु हुने जनाइएको छ ।