३१ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनाल ले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभव नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
चीनको बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र व्यवसायीहरूलाई देश निर्माणको अभियानमा सक्रिय योगदान दिन आग्रह गरे।
मन्त्री खनालले नेपालमा युवा पलायन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै वर्षेनि करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गरे पनि सीमित संख्याले मात्र रोजगारी पाउने अवस्था रहेको उल्लेख गरे। उनले देशभित्रै वार्षिक साढे चार लाख नयाँ रोजगारी सिर्जना गर्नु ठूलो चुनौती भएको बताए।
उनका अनुसार नेपाल अहिले जनसाङ्ख्यिक लाभांशको अवसरमा रहे पनि आगामी दुई दशकपछि बुढ्यौली जनसंख्याको चरणमा प्रवेश गर्ने भएकाले विकासका लागि समय सीमित छ।
विदेशमा रहेका नेपालीहरूले सिकेको आधुनिक विज्ञान, प्रविधि र अनुसन्धानलाई नेपालमा उपयोग गर्न सके देशको विकास तीव्र हुने मन्त्री खनालको भनाइ थियो। उनले चीनमा रहेको नेपाली समुदायले नेपाल र चीनबीचको व्यापार, प्रविधि र पर्यटन क्षेत्रको “ब्रिज” को भूमिका खेल्न सक्ने पनि बताए।
सरकारले डायस्पोराको लगानी, सीप र ज्ञान भित्र्याउन आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
मन्त्री खनालले देश निर्माण कुनै एक व्यक्तिको प्रयासले सम्भव नहुने भन्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीको साझा योगदानबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा राखे।





