ब्रेकिङ न्युज

एक महिनामै १३५ अंक खस्यो नेप्से

११ असार , काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको श्रृंखला जारी रहँदा नेप्से परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। बिहीबार नेप्से ८.५० अंकले घटेर २,६५१ अंकमा सीमित भएको छ, जुन पछिल्ला केही महिनाकै न्यून स्तर हो।

पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से १३५ अंकले घटेको छ। जेठ ११ गते २,७८६ अंकमा रहेको बजार अहिले २,६५१ अंकमा झरेको छ। कारोबारको बीचमा बजारले सुधारको संकेत देखाए पनि अन्तिम समयमा बिक्री दबाब बढ्दा सूचक पुनः तल झरेको हो।

कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार यो रकम घटेर २ अर्ब ८३ करोड रुपैयाँमा सीमित रह्यो।

बजारमा ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रह्यो। उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसमूह राताम्मे बने। व्यापार समूह सबैभन्दा बढी १.९६ प्रतिशतले घट्यो।

यद्यपि, हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावर का सेयरमा सकारात्मक उत्साह देखियो। दुवै कम्पनीको मूल्य १५ प्रतिशतले बढेर ५२४ रुपैयाँभन्दा माथि पुगेको छ।

बिहीबार कालिका लघुवित्त, सप्तकोशी विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स का लगानीकर्ताले राम्रो कमाइ गरे भने भुजुङ हाइड्रोपावर, सीवाईसी लघुवित्त र भगवती हाइड्रोपावर का सेयरधनीले उच्च गिरावट व्यहोरे।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अग्रस्थानमा रहे।