११ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई नतिजा हतारमा सार्वजनिक गरिएको भन्ने आरोपको खण्डन गरेका छन्। उनले राष्ट्रिय परीक्षा बोर्डले आवश्यक जनशक्ति थप गरेर र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा समयमै प्रकाशन गरेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रक्रियाप्रति मन्त्रालय र परीक्षा बोर्ड दुवै स्पष्ट तथा विश्वस्त रहेको उल्लेख गरेका छन्। उनका अनुसार निर्धारित समयमै नतिजा सार्वजनिक हुनु हतारको परिणाम नभई व्यवस्थापकीय सुधारको उपलब्धि हो।
नतिजासम्बन्धी विषयमा भइरहेका शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै उनले लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। साथै आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुर्व्यवहार र अपमानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्।
यसैबीच, नतिजा प्रक्रियाबारे उठेका प्रश्न र जिज्ञासाको निष्पक्ष परीक्षणका लागि शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको छ। समितिले उत्तरपुस्तिकाको नमूना परीक्षण गर्नुका साथै प्राप्ताङ्क र डाटा इन्ट्रीको पुनः रुजु गर्नेछ।
मन्त्रालयले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिइने जनाएको छ।





