२० असार, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच निकट भविष्यमै भेटवार्ता हुने भएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दुवै नेताले हालै भएको टेलिफोन संवादका क्रममा छिट्टै प्रत्यक्ष भेट गर्ने सहमति गरेका हुन् ।
यद्यपि, भेटवार्ताको मिति भने अझै तय भइसकेको छैन ।
फोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहूले संयुक्त राज्य अमेरिकाको स्थापना भएको २५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका थिए ।
विज्ञप्तिअनुसार नेतन्याहूले अमेरिका विश्वभर स्वतन्त्रताको प्रमुख संरक्षक रहेको उल्लेख गर्दै इजरायलले अमेरिका–इजरायल सम्बन्धलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा लिने बताएका छन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले दुवै नेताबीच हुने आगामी भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको जनाएको छ ।
स्रोतका अनुसार शान्ति वार्ता भाँडेर पुनः इरानमा आक्रमण गर्न नेतन्याहू ट्रम्पलाई उक्साउन सक्ने आशंका गरिएको छ ।





