ब्रेकिङ न्युज

‘देश बदल्ने’ दाबी गर्ने सरकार आफ्नै १०० बुँदे योजनामै असफल : कांग्रेस

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गरेको हो।

बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै कार्यसूची कार्यान्वयनमा देखिएका कमजोरीलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ। साथै सरकारका कामकारबाहीको नियमित अनुगमन गर्दै प्रमुख प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउने कांग्रेसले जनाएको छ।

कांग्रेसले सरकार गठनका बेला रवि लामिछानेले १०० दिनमै देशमा उल्लेखनीय परिवर्तन ल्याउने दाबी गरेको स्मरण गराउँदै अहिले भने सरकारले आफ्नै १०० बुँदे शासकीय सुधार कार्यसूचीसमेत प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ।

बैठकले मन्त्रालयगत संयोजकहरूले पेस गरेका प्रतिवेदनका आधारमा आवश्यक सुधारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। साथै ती प्रतिवेदनलाई जानकारीका लागि पार्टीको केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले आगामी दिनमा सरकारका मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी राख्दै जवाफदेहिता सुनिश्चित गर्न संसद्मा थप आक्रामक भूमिका निर्वाह गर्ने संकेत दिएको छ।