२१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सुशासन र विकासभन्दा पनि संविधानले सुनिश्चित गरेका महिला, दलित, आदिवासी तथा जनजातिका अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको दाबी गरे। उनले यस्तो गतिविधिविरुद्ध सबै राजनीतिक शक्ति र नागरिक सचेत भएर उभिनुपर्ने अवस्था आएको बताए।
प्रचण्डले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियनका अधिकार सीमित गर्ने तथा राष्ट्रिय सीमासम्बन्धी विषयमा सरकारको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे। यी विषयमा संसदभित्र र बाहिर थप सशक्त रूपमा आवाज उठाउने उनले बताए।
साथै, उनले आफ्नै राजनीतिक यात्राको समीक्षा गर्दै विगतमा वर्ग संघर्ष, विचार र दीर्घकालीन रणनीतिभन्दा तत्कालीन कार्यनीतिलाई बढी प्राथमिकता दिँदा गम्भीर कमजोरी भएको स्वीकार गरे। त्यसको मुख्य जिम्मेवारी आफूले लिने उल्लेख गर्दै अब ती कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।





