२५ असार, काठमाडौं । घुस लिएको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका पूर्वसभासद डोलबहादुर (डिबी) कार्की नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
कार्की यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्यूरो सदस्य थिए। उनीसँगै उक्त पार्टीका अन्य छ जना नेताले पनि एमालेको सदस्यता लिएका छन्।
डिबी कार्की पहिलो संविधानसभाका सदस्य रहेका बेला नेपाल प्रहरीमा इन्स्पेक्टर पदमा जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीबाट एक लाख रुपैयाँ बरामद भएको थियो।
मुद्दामा विशेष अदालतले उनलाई कैद र जरिवानाको सजाय सुनाएको थियो भने उक्त फैसला पछि सर्वोच्च अदालतले पनि सदर गरेको थियो। अख्तियारले चार लाख रुपैयाँ घुस लिएको आरोप लगाए पनि सर्वोच्चले प्रमाणका आधारमा बरामद भएको एक लाख रुपैयाँलाई मात्रै घुसको बिगो कायम गरेको थियो।
अदालतबाट दोषी ठहर भइसकेपछि कार्की कुनै पनि जनप्रतिनिधिमूलक निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भए पनि उनी राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। अहिले भने उनी औपचारिक रूपमा एमालेमा आबद्ध भएका छन्।





