समाचार

सात कोठाको घरबाट चल्थ्यो करोडौंको खेल

२६ असार, काठमाडौं ।  पोखराको सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अनलाइन सट्टेबाजीको ठूलो नेटवर्क प्रहरीले फेला पारेको छ । कास्की प्रहरीले क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाका ३१ वर्षीय दिनेशसिंह बोहरासहित सात जना भारतीय नागरिक रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भारतीय नागरिक सत्यम सिंहले उक्त नेटवर्क सञ्चालन गर्दै आएका थिए ।

गोप्य सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा–१८ सेदीस्थित एक घरमा छापा मारेको थियो । छापाका क्रममा प्रहरीले सात वटा ल्यापटप, ६ वटा मनिटर, ३१ वटा मोबाइल, भारतीय सिमकार्ड, राउटर, यूपीएसलगायतका सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त समूहले ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिंकमार्फत ग्राहकलाई जोडेर अनलाइन सट्टेबाजी गराउँदै आएको थियो । टेलिग्राम र ह्वाट्सएपको प्रयोग गरी रकम जम्मा गराउने, खेलमा बाजी लगाउन लगाउने र जित्ने ग्राहकलाई अनलाइनबाटै रकम भुक्तानी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा गिरोहले सात कोठाको घर भाडामा लिएर लामो समयदेखि कारोबार सञ्चालन गर्दै आएको पाइएको छ । प्रहरीले उनीहरूले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको जनाएको छ ।

बरामद कम्प्युटर तथा डिजिटल उपकरणको अध्ययन गर्दा २० करोड रुपैयाँभन्दा बढीको शंकास्पद आर्थिक कारोबार देखिएको छ । प्रहरीका अनुसार विभिन्न बैंक खाता र डिजिटल वालेट प्रयोग गरी अन्तरदेशीय रूपमा कारोबार भइरहेको प्रमाण भेटिएको छ ।

प्रहरीले यो समूह अन्तर्राष्ट्रिय सट्टेबाजी सञ्जालसँग जोडिएको हुनसक्ने आशंका गरेको छ । बरामद सामग्री, आर्थिक कारोबार र संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।