ब्रेकिङ न्युज

सर्वोच्चमा डेढ साताको ‘ब्रेक’ किन लाग्दैछ ?

२६ असार, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ सातासम्म प्रभावित हुने भएको छ । अदालतको लगत सार्ने नियमित प्रक्रियाका कारण साउन १ गतेदेखि साउन १० गतेसम्म नियमित इजलास सञ्चालन नहुने भएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार नियमित सुनुवाइ साउन ११ गतेदेखि पुनः सुरु हुनेछ । प्रत्येक नयाँ आर्थिक वर्षमा पुरानो आर्थिक वर्षको मुद्दा विवरण तथा लगत नयाँ प्रणालीमा सार्ने कामका लागि केही समय नियमित सुनुवाइ प्रभावित हुने गरेको छ ।

यसअघि सर्वोच्चमा करिब दुई सातासम्म नियमित सुनुवाइ अवरुद्ध हुने गरेको भए पनि यसपटक ११ दिन मात्रै प्रभावित हुने अदालतले जनाएको छ ।

तर, बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ भने नियमित रूपमा जारी रहनेछ । यस्तै, आवश्यक र विशेष प्रकृतिका केही निवेदनमाथि पनि सुनुवाइ हुन सक्ने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।