ब्रेकिङ न्युज

आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२६ असार, काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा पनि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोसी र मधेसका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको भनाइ छ।

रातिको समयमा पनि अधिकांश भूभागमा बदली कायमै रहनेछ। कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा मध्यम वर्षा जारी रहने र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।


हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। साथै, मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि अझ सक्रिय बनेको विभागले उल्लेख गरेको छ