ब्रेकिङ न्युज

गणेश नेपाली घटनाले राज्य र समाजलाई झस्काएको छ : गगन थापा

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले गणेश नेपालीको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका साथ लिन आग्रह गर्नुभएको छ।

आज फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई झस्काएको उल्लेख गर्नुभएको छ।

उहाँले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

थापाले यो घटना एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर हेर्नुपर्ने बताउनुभएको छ।

उहाँले गणेश नेपालीका आश्रित परिवारलाई सक्दो सहयोग गर्न सबैमा अपिल गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य, समाज र नागरिक सबैले आत्मचिन्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

साथै, एउटा युवा किन यस्तो निराशाको अवस्थामा पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ र राज्यले नागरिकलाई आवश्यक भरोसा किन दिन सक्दैन भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उहाँको भनाइ छ।