२६ असार, काठमाडौं । गणेश नेपालीको आत्मदाहपछि भएको निधनलाई लिएर संसद्मा सरकारमाथि तीव्र आलोचना भइरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले फरक दृष्टिकोण प्रस्तुत गरेका छन्। उनीहरूले एउटै घटनामा मात्र केन्द्रित हुनुभन्दा नेपालमा बढ्दो आत्महत्याको समस्या र मानसिक स्वास्थ्य संकटबारे गम्भीर बहस गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपा सांसद गणेश कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको मृत्यु अत्यन्त दुःखद भएको बताए। तर, उनले घटनालाई केवल राजनीतिक बहसको विषय बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने र करिब ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्यांक प्रस्तुत गर्दै अर्को यस्तै घटना दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। उनका अनुसार कानुन, समाज, मानसिक स्वास्थ्य र राज्यका नीतिहरू सबैको भूमिकाबारे गम्भीर समीक्षा हुन आवश्यक छ।
उनले गणेश नेपालीमाथि लागेको १० हजार रुपैयाँ ट्राफिक जरिवानाबारे विभिन्न भ्रम फैलाइएको दाबी गर्दै वास्तविक तथ्यभन्दा बढी भावनात्मक बहस भइरहेको टिप्पणी गरे। संसद्ले अब अर्को ‘गणेश नेपाली’ बन्न नदिन आवश्यक कानुनी र नीतिगत सुधारतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
रास्वपाकै अर्का सांसद जगदीश खरेलले पनि गणेश नेपालीको मृत्युले आफूलाई स्तब्ध बनाएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे। उनले सरकारले सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्ने बताए।
खरेलले नेपालमा वर्षेनी करिब सात हजार जनाले आत्महत्या गर्ने र ठूलो संख्यामा नागरिक मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन आग्रह गरे। नीति, कानुन, सेवा र संरचनामा मानसिक स्वास्थ्यलाई प्रभावकारी रूपमा समेट्नुपर्ने भन्दै उनले मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक चेतना र परामर्श सेवाको पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए।





