अन्तर्राष्ट्रिय

ट्रम्प फेरि विश्वकपको चर्चामा किन ?

३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। न्यु जर्सीमा हुने स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तपछि उन

ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको छ।

यो ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो विश्वकप फाइनल हुनेछ। तर प्रतियोगिताको अन्तिम चरणअघि अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन फिफा अध्यक्षसँग उनले गरेको भनिएको टेलिफोन संवाद सार्वजनिक भएपछि उनको भूमिकालाई लिएर विवाद चुलिएको थियो। त्यस घटनापछि प्रतियोगिताको निष्पक्षतामाथि समेत प्रश्न उठेको थियो।

विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अमेरिकामा फुटबलको लोकप्रियता बढाउने ऐतिहासिक प्रतियोगिताको रूपमा व्याख्या गरेका छन्। फाइनल खेल हेर्न उनीसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरा ब्यारन ट्रम्प र मेलानियाका पिता भिक्टर नाभ्स पनि उपस्थित रहने जनाइएको छ।

विश्वकप फाइनल खेल खेलकुदसँगै कूटनीतिक भेटघाटको अवसरसमेत बन्ने अपेक्षा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी लगायतका उच्च अधिकारीहरू पनि खेल हेर्न पुग्ने कार्यक्रम छ।

ट्रम्पको उपस्थितिलाई मध्यनजर गर्दै न्यु जर्सीस्थित रंगशालामा कडा सुरक्षा व्यवस्था गरिएको छ। उनको आगमनका बेला रंगशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ।

पछिल्लो समय ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीचको निकट सम्बन्ध पनि चर्चामा रहँदै आएको छ। यसअघि फिफा क्लब विश्वकपको ट्रफी वितरण समारोहमा ट्रम्प विजेता टोलीसँगै मञ्चमा बसेको घटनाले पनि व्यापक चर्चा पाएको थियो।