३ साउन, काठमाडौं । नेपालका अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रतिवेदनअनुसार कुल ज्येष्ठ नागरिकमध्ये ७२.६ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन्।
प्रतिवेदनअनुसार नेपालमा हाल ३३ लाख ५५ हजार ८०८ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ठूलो हिस्सा अझै आर्थिक गतिविधिमा सहभागी रहेको देखिएको छ।
तथ्यांकअनुसार ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसाय वा कामदारका रूपमा सक्रिय छन्। यस्तै, १३.४ प्रतिशत ज्येष्ठ नागरिक रोजगारीमा रहेका छन् भने ०.८ प्रतिशत रोजगारदाताका रूपमा रहेका छन्। बाँकी १७ प्रतिशत ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा भूमिका निर्वाह गरिरहेका छन्।
आर्थिक रूपमा सक्रिय ज्येष्ठ नागरिकमध्ये कृषि क्षेत्र सबैभन्दा प्रमुख रहेको छ। प्रतिवेदनले ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा र २७ प्रतिशत गैरकृषि क्षेत्रमा सक्रिय रहेको देखाएको छ।
उमेर बढे पनि ठूलो संख्यामा ज्येष्ठ नागरिकले आफ्नो परिवारको आर्थिक सहयोग, जीविकोपार्जन र उत्पादनमूलक काममा निरन्तर योगदान दिइरहेको तथ्यांकले देखाएको छ।




