काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आई.पि.एस् ई पेईमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ ।
सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारौँ ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आई.पि.एस् को पेमेन्ट प्रोसेसर (गेटवे), अथवा www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
कनेक्ट आई.पि.एस् ई पेईमेन्ट प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका माहाल सम्म ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।





