काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् साँसद डा डिला संग्रौलाले कोरोना सम्बन्धी जरुरी महत्वको विचार व्यक्त गरेकी छन् । उनले संसदमा कुरा राख्दै भनेकी छन्, १० दिनमा अत्याधुनिक र सुबिधासम्पन्न अस्पताल निर्माण गर्न सक्ने ताकत भएको हाम्रो उत्तरी छिमेकी राष्ट्र चीन अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन संघर्षरत छ । छिमेकमा परेको विपत्तिप्रति नेपाल सरकार र नेपाली जनताले सम्पूर्ण रूपमा साथ दिनुपर्छ । हाम्रो कामना र प्राथना छ, चिनियाँ नागरिकहरू कोरोनो भाइरसको जटिल संक्रमणबाट चाँडै मुक्त हुन सकुन् । र, विश्वव्यापी फैलावट पनि चाँडै नियन्त्रणमा आओस् ।
उनी भन्छिन्, ‘चीनले राज्यको सम्पूर्ण शक्ति लगाउँदा पनि कोरोना भाइरसको संक्रमण रोक्न निकै ठूलो सकस परिरहेको छ । चीनले नोबल कोरोनाको संक्रमण भएको थाहा पाउने बित्तिकै शुरू गरेको नियन्त्रण र औषधि उत्पादनको प्रयास सफल भइसकेको छैन । चिनियाँसहित कोरोना भाइरसको संक्रमण फैलिएका देशका नागरिकहरू नेपाल आउने क्रम पनि रोकिएको छैन । नेपाल सरकारको तयारी के छ ? कसरी गरिँदैछ काम ? यो प्रश्न अहिले निकै गम्भीर बनेको छ । युद्धस्तरमा काम गर्नुपर्ने बेलामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक जम्मा २ पटक बस्यो । बैठकले कोरोना नियन्त्रणका लागि गम्भीर निर्णय गरेको छैन । अन्तर्राष्ट्रिय हवाइसेवा तत्काललाई रोक्न केले अवरोध गरेको छ ? वैदेशिक रोजगारीका लागि दिइने श्रम अनुमति पनि तत्काल रोक्नुपर्छ ।’
डा संग्रोलाले ध्यानाकर्षण गराईन्, ‘कोरोना भाइरसको संक्रमणको आशंका लागेका व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ । तर, महामारी फैलिएमा त्यो अस्पतालले अतिलाई धान्न सक्छ ? आइसोलेशन वार्डहरू कति वटा छन् ? बिमारीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा कसरी गरिएको छ ? यी र यस्ता सवालमा सरकारको ध्यान पुगोस् ।’
सभामुखलाई सम्बोधन गर्दै बिशेष अभियान संचालन गर्न उनले तर्क गरिन्, ‘चीन सरकारले १० दिनमा अस्पताल खडा गरेको समाचार त हामीले रोचक ढंगले उत्साहित हुँदै पढ्यौं । तर, हाम्रो देशको सरकारको ल्याकत कति छ ? सरकारले कस्तो हैसियत राख्छ भन्ने कुराको प्रमाण यस्तो संकटको बेला मापन हुन्छ । त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु, सबै राजनीतिक दलको समन्वयमा युवा परिचालन गरेर खरिपाटीमा एक महिनाभित्र अस्पताल निर्माण गरौं । वुहानबाट फर्किएका नेपालीलाई राखिएको स्थान खालि भइसकेको छ । अब त्यहाँ अस्पताल निर्माणमा जुटौं । यसको जिम्मेवारी सरकारले लिन तयार रहोस् । प्रतिपक्षी दल जस्तोसुकै सहयोग गर्न तयार छ । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहनु भएको छ । अस्पतालको बेडबाटै राष्ट्रलाई आह्वान गरे अस्पताल निर्माणको प्रारम्भ गरियोस् । स्वाभाविक छ, कोरोनाको संक्रमण नेपालमा अहिलेसम्म देखिएको छैन । तर, सन्त्रासको मनोवैज्ञानिक असर व्याप्त छ । सन्त्रासको मनोवैज्ञानिक असर नियन्त्रण गर्न सरकारले विशेष अभियान सञ्चालन गरोस् ।’





