१२ बैशाख काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल गर्न आज मन्त्रीपरिषदको बैठक बस्दै छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा खोलीले हालै सरकारले जारी गरेको दुई अध्यादेशका बारेमा छलफल हुने भएको छ ।
आजको बैठकले ती दुई अध्यादेश फिर्ता गर्ने निर्णय पनि गर्नसक्ने बताईएको छ । मन्त्रीपरिषदको बैठक सोमबार नियमित रुपमा बस्ने गर्छ । यो आकस्मिक बैठक भएकाले अध्यादेशका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको हो ।
सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुने अध्यादेश ल्याएको थियो । अध्यादेशको विपक्षी दलसहित स्वयं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारकै मन्त्रीहरूबाट विरोध भएको थियो ।
बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सरकारले जारी गरिएका अध्यादेश फिर्ता गर्नुपर्नेसँगै सचिवालय तथा केन्द्रिय कमिटीको बैठक गर्नुपर्ने निर्कर्ष निकालेको थियो ।
यसअघि बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए।





