काठमाडौँ, १५ वैशाख । पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म निःशुल्क यातायातको व्यवस्था गरेको छ ।
नेपाली काँग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा फाउन्डेसनले सञ्चालन गरेको निःशुल्क यातायात सेवाअन्तर्गत आज काठमाडौँका बौद्ध, महाराजगञ्ज, सामाखुसी, माछापोखरी, नयाँबजार, कलङ्कीलगायत स्थानबाट करिब एक दर्जन बस नुवाकोट पठाइएका छन् ।
लकडाउनसँगै लामो समय व्यापार, व्यवसाय र रोजगारी बन्द हुँदा काठमाडौंमा अस्थायी बसोबास गरिरहेका हजारौँ नुवाकोटवासीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर फर्किन चाहनेका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको काँग्रेस युवानेता रमेशकुमार महतले बताएका छन् । जनताप्रतिको उत्तरदायित्व वहन गर्ने सन्दर्भमा विगतदेखि नै आफू निरन्तर लागिपरेको स्मरण गर्दै नेता महतले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व पालनामा नचुक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
फाउन्डेसनका जिल्ला अध्यक्ष रमेशकुमार पाठकले यो विषम परिस्थितिमा जनतालाई राहत दिने कार्यमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा आफूहरू जिल्लावासीको पीडामा मलम लगाउने प्रयासमा जुटेको बताएका छन् । मानवसेवाको कार्यमा आफू र संस्था निरन्तर लागिपर्ने उनको सङ्कल्प छ । उनले फाउन्डेसनको अभियानमा नैतिक वा भौतिक साथ र समर्थन दिने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।
फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरलले फाउन्डेसनले सबै जिल्ला र स्थानीय तहसम्म फैलिएका समितिहरूमार्फत देशैभर मानवसेवाको अभियान चलाइरहेको भन्दै कठिन घडीमा फाउन्डेसनको क्रियाशीलता अझै बढिरहने बताएका छन् । जिल्लावासीको जुनसुकै समस्यामा साथ र सहयोग पुर्याउन आफूहरू अहोरात्र खटिइरहेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि नुवाकोटको सेवामा उत्तिकै तदारुकताका साथ लागिरहने अठोट व्यक्त गरे ।





