समाचार

लिपुलेक सडक भारतको हेपाहा प्रवृत्तिको अर्को नमूना, सरकारको कुटनीतिक कमजोरीःसाझा पार्टी

२७ बैसाख, काठमाडौं । साझा पार्टीले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साझा पार्टी सहप्रवक्ता शरदराज पाठकले एक विज्ञप्ती जारी गर्दै, ‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ।’

पार्टीले भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ। त्यो स्पष्टतः भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना भएको टिप्पणी गरेको छ ।

साझाले भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् रहेको जनाउँदै भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार रहेको जिकिर गरेको छ ।

साझा पार्टीले पछिल्ला राजनीतिक घटना क्रममा दुःख ब्यक्तगर्दै आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति रहेको बिश्लेशष गर्दै भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको बताएको छ।