१९ असार, लहान । सिरहाको लहान नगरपालिका–४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेकोे छ । अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि दुवै बस्तीमा जोखिम बढे्को हो ।
बाढीले इस्लामपुर नजिकको बाँधलाई आधा कटान गरेपछि दुई गाउँका स्थानीयवासी त्रसित बनेका छन् । नदीमा आएको बाढीले आफ्नो बहाव परिवर्तन गरी गाउँ नजिकै बाँध कटान गर्न थालेकाले गाउँ डुबानमा पर्ने जोखिम बढ्ेको स्थानीयवासीले बताएका छन् ।
“बस्ती छेउमै करिब ७० मिटर बाँध कटान भइसकेको छ” स्थानीय मो गफुरले भने, “जसका कारण पुरै बस्ती नै जोखिममा परेको छ, समयमै नियन्त्रण नभए ठूलै समस्या हुनसक्छ ।” तत्कालै बाँध कटान रोक्न पहल हुनुपर्ने उहाँको कथन छ ।
यता स्थानीयवासीले सूचना दिएलग्तै कटान स्थलको निरीक्षण गरी कटान रोकथामका लागि पहल गरिरहेको लहान–४ का वडाध्यक्ष रामनाथ पण्डितले जानकारी दिए । यसबारे नगरप्रमुखसहित प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकेको वडाध्यक्ष पण्डितले बताए । दुवै बस्तीमा करिब ६२ परिवारको बसोबास छ ।





