समाचार

काँग्रेस जिल्ला उपसभापति गिरीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का जिल्ला उपसभापति सुवाषचन्द्र गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज ३८ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । सभापति देउवाले उनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका छन् । स्व गिरी एक सफल व्यवसायी पनि थिए ।

यसैगरी काँग्रेसले पार्टीको केन्द्रीय शिक्षा विभागका सदस्य पर्सा निवासी प्रमोदकुमार गुप्ताको निधनप्रति दुःख व्यक्त गर्दै उनका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । गुप्ताको आज निधन भएको हो । काँग्रेसले उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व गुप्ताले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ ।