विचार/ब्लग

कोरोना नियन्त्रणमा आएपछि अर्को साल डबल नाचौंला, यो पालीे घरमै नाचौं

शोभा रावत । ५ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज, वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउने गर्दछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सुखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकी थिईन । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
आजका दिनमा हिन्दु महिला दिदि– बहिनीहरु दिनभर निर्जला ब्रत बसी भगवान शिवको पुजा पाठ गर्ने गर्दछन् । बिहे भएका दिदि–बहिनिहरु आफ्ना श्रीमानको लामो आयुको लागि र अविवाहित दिदि–बहिनिहरु राम्रो श्रीमान मिलोस भनेर ब्रत बस्ने गर्दछन् । दिनभर भोकै ब्रत बसेर साँझ तुलसिको जल खाई पुजा आजा गरी विभिन्न फलफुल, सावदाना, दही, दुध खाने गर्दछन् ।
तिजको अघिल्लोदिन मध्यरातमा विभिन्न परिकारहरु पकाई दर खिर, अचार, रोटि, पुलाउ खाने र नाचगान गर्ने तथा तिजको दिनमा भने भोकै बस्ने परम्परा रहेको छ । तिजको दिनमा छोरी– चेली आफ्नो माईतमा रमाउने, गाउँको चौतारा, घर लगाएत विभिन्न स्थानमा धेरै महिलाहरु जम्मा भई नाचगान गर्ने पनि गर्दछन् । वर्षभरी विछोडिएका आफ्ना साथि–संगीसंगै आफ्ना दुःख सुखका कुरा साटा–साट गर्ने पनि गर्दछन् ।
तिजको दिनमा महिलाहरु नयाँ कपडा, गहना लगएत सोह्रै सृंगामा सजिएर रमाउने गर्दछन् । गाउँघरमा त झनै तिजको एक महिना अघिदेखी नै चहल–पहल सुरु हुने गर्दछ । तीज आउनु भन्दा झण्डै एक महिनादेखी नै नयाँ कपडा किन्ने, सिलाउने, गरगहना किन्नलाई सुन पसल, कस्मेटिक पसलहरुमा महिलाहरुको घुँईचो लाग्ने गर्दथ्यो । पेसा व्यवसायी, जागीरे महिलाहरुले पनि भ्याई–नभ्याई तीजको अन्तिमसम्ममा भएपनि आफुलाई आवस्यक पर्ने सामानहरु किन्ने गर्ने चलन हो । साथै रेडियो, टिभि, अनलाईन, युट्युवहरुमा १५ दिन अघिदेखी तीजका गितहरु गुञ्जिदा त झनै तिजको त्यो चलह–पहलमा झनै रौनक भरेको हुन्छ । वर्षदिनको एकदिन आउने चाडपर्वलाई सभ्य तरिकाले मनाउनु नै संस्कृतिको रक्षा गर्नु राम्रो हो तर पछिल्लो समय तीजपर्वमा विभिन्न विकृति फैलिएका छन् । महिनौं अघिदेखी दर खाने त्यस्मा पनि दरका रुपमा विभिन्न मदिरा सेवनदेखी माछा, मासु खाने र धेरै पैसा खर्च गरी दर खाने, अंग्रेजी तथा हिन्दी गीतहरुमा नाच्ने गर्दा पुरानो संस्कृति मांसिँदै जाने खतरा पनि बढेको बिषयमा बहस पनि हुने गरेको छ ।
साथै तीजमा धेरैजसो महिलाहरुले देखासिक्की गर्ने हुँदा निकै भड्किलो समेत हुने गर्दछ । पैसा नभएपनि तीजमा एक दिनका लागि ऋण काढेर भएपनि गहना, महंगा लुगा–गरगहना–अन्य लुगा तथा साडि लगाउने जस्ता विकृतिहरुपनि तीजमा हुने गर्दछन् । जस्ले गर्दा गहना लुटिने/चोरी हुने वा हत्या समेतका घटनाहरुपनि घट्ने सम्भावना रहन्छ । यस्ता नकारात्मक रुपमा समस्या आउने सम्भावना देखिएकाले आफ्नो हैसियत भन्दा माथि गएर, संस्कृति मास्ने खाल्को अनि धेरै भड्किलो तरिकाले कहिलै तिज नमनाऔं ।

हिन्दु महिलाहरुको लागि तीज एक महान पर्व हो, तर यसपाली भने निकै खल्लो भएको छ । महिला दिदि– वहिनिहरुका लागि यसपालीको तीज रमाईलो भएको छैन । विश्वभर फलिएको कोरोना भाईरस भोभिड– १९ का कारण मुलुक ठप्प भएको छ । साथै सरकारले एकैठाउँमा धेरैजना भेला हुन रोक लगाएको छ । विभिन्न स्थानिय तहहरुले चेलीलाई माईतमा वा आफ्नो स्थान छाडेर अन्यत्र नजान आग्रह गरेपछि आफ्नै घरमिभै तिज मनाउनु पर्ने छ । जसले गर्दा यसपालीको तीजमा कुनै रौनक छैन । गाउँघरमा तिजका गितहरु गुञ्जिएका छैनन् भने नाचोलाग्ने चौताराहरु सुनसान नै छन् । बटोहरुमा पनि दुई चार जना बटुवा बाहेक कोहि देखिएका छैनन् । रंगि–विरंगीको साडि र गहनाले सजिएका महिलाहरु कँहि कतै देखिएका छैनन् ।
पोहर– परार सालमा यतिबेला तीजको रौनक धुमधामले छाउँथ्यो । कम्तीमा महिनादिन अघिदेखि नै महिलाहरु दर खाने, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठन लगायतले गक्षअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे ।
तर कोरोना संक्रमणका कारण यसपालिको तीज पर्व खल्लो र निरासको छ । तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कोरोनाको संक्रमण तिब्र बन्दै गएपछि कठमाडौं लगायत विभिन्न स्थानमा घर बाहिर निस्कनेलाई सरकारले कारबाही गर्छ ।
तै पनि सहज भएसम्म रमाईलो गर्नलाई आजको दिनमा आफ्नै घरमा परिवार जम्मा भएर रमाईलो गर्ने, घरकै दिदि–बहिनी नाचगान गर्ने भने गरेको देखिएको छ । तीजको अवशरमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । जसले गर्दा यसपलीको तीज थप खल्लो लाग्दो छ ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि देशभरका कम्तीमा ४३ जिल्लामा कडाईका साथ लकडाउन गरिएको छ र यो आवस्यक देखिएको छ । मुलुकमा जारी लकडाउन खुलेलगत्तै कोरोना संक्रमित ह्वात्तै बढेकोबाट पनि हामी अनुमान लगाउन सक्छौं कोरोना नियन्त्रका लागि अझै समय कडाई गर्न आवस्यक छ, सरकारले लकडाउनलाई कडाई गर्नुको बिकल्प पनि छैन ।
आज नेपालमा कोरोना महामारी तीब्र रुपमा फैलिएको छ, दैनिक, एक सय ३० भन्दा बढी नेपालीहरुले संक्रमणकै कारण मृत्यु बरण गर्नु परेको छ । कोरोना, वाढी पहिरो लगायतका विभिन्न प्रकोपका कारण सिंगो देश, नेपाली जनाता यतिबेला पीडामा भएको बेला रमाउनुको कुनै अर्थ पनि छैन । विभिन्न स्थानमा आएको वाढी पहिरोमा परेर कयौंले ज्यान गुमाएका छन् भने कयौं व्यक्ति अझै बेपत्ता छन् । साथै कयौं परिवार घरबार बिहिन भएर त्रिपालमुनि खोलेपानी खाएर जिवन कटाईरहेका छन् । यतिबेला कुनै चाडपर्ब धुमधामकासाथ रमाईलो गरेर मनाउनु भन्दा यस्तो विपत्ति र कोरोनाबाट बच्नु नै हामी सबैको पहिलो प्राथमिकता हो ।
त्यसकारण यो महामारी र विपत्तिमा हामी सम्पुर्ण नेपाली एक भई जुट्न जरुरी छ । सरकार वा स्वास्थ्य विज्ञहरुको सल्लाहअनुसार महामारीलाई जित्ने उपाय अबलम्बन गरेमात्र यो विपत्तिलाई जित्न सकिने छ । अन्यथा नेपाल पनि कोरोना माहामारीको सवालमा अमेरिका, भारत, ब्रजिलजस्तो नबन्ला भन्न सकिँदैन ।
सबैले बिश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य बिज्ञहरुले जारी गरेका विभिन्न स्वास्थ्य मापदण्डह पालना गर्न जरुरी छ । आफु लगायत आफ्नो छिमेकी, गाउँ, हुँदै सिंगो देशकै कोरोना नियन्त्रणमा हामी सबैले महत्वपुर्ण भुमिका खेल्न जरुरी छ । माक्स, स्यानिटाईजर, साबुनपानी, सामाजिक दूरीलाई महत्व दिऔं। अर्को साल कोरोना नियन्त्रणमा आएमा यसपालीकोसमेत जोडेर डबल नाचौंला, अहिले भने घरमै बसौं, घरमा नै नाचौं, जे जस्तो भयो त्यस्लाई रमाईलोको रुपमा लिऔं । महिलाहरुसहित सम्पूर्ण नेपालीहरुलाई तीजको शुभकामना ।