पु.समाचार

भदौ १३ गतेका लागि नेकपाले बोलायो सचिवालय बैठक

९ भदौ, काठमाडौं । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सचिवालय बैठकको एजेण्डा कार्यदलको प्रतिवेदन रहको छ ।

ओली र दाहालले साउन ३० गते कार्यदल बनाएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको असन्तुष्टि थियो । त्यसपछि कार्यदल अनुमोदन गर्न भदौ १ मा सचिवालय बैठक बसेको थियो ।

कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमतिपछि बैठकबाट कार्यदल अनुमोदन भएको थियो ।

कमिटी छलेर कार्यदल बनाएपछि अनुमोदन गर्नुको कुनै अर्थ नरहेको भन्दै सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले पनि असन्तुष्टि पोखेका थिए । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो ।