समाचार

पाँच महिने बालक सहित चितवनमा थपिए एकैपटक ५२ जना नयाँ कोरोना संक्रमित

११ भदौ, काठमाडौं । पाँच महिने शिसु सहित चितवनमा एकैपटक ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा एकैदिन ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाईएको छ ।

संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन् । रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन् । उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थि ए।

यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ । माडीमा ५ महिने बालक पनि छन् । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन् ।

पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। लकडाउन खुलेपछि पहिलोपटक संक्रमण पुष्टि भएको हो । त्यस्तै, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

उनीहरूमध्ये एक जनाले क्यान्सर अस्पताल भरतपुर र अर्काले रत्ननगरबाट स्वाब दिएका थिए । तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज डा.नविनकुमार चौधरीकाअनुसार भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको हो ।

रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरू १४ देखि ५३ वर्षसम्मका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ ।