पु.समाचार

महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

११ भदौ, काठमाडौं । पछिल्लो समय फ्रन्ट लाईनमा भएर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिँदै गएको छ ।

यस्तै काठमाडौंमा एक हत्या आरोपतिबाट फैलिएर आज थप २२ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले जानकारी दिएका छन् । जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

नेपालमा अहिले दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै गएको छ । कोरोना नियन्त्रणका लागि भनेर विभिन्न जिल्लाहरुमा निषेधाज्ञाजारी गरिएको छ भने यता काठमाडौंमा पनि कडा निषेधाज्ञा छ ।