राजनीति

ओली सरकारकाे कुशासनका कारण जनताका आर्थिक/ सामाजिक अधिकार ओझेलमाःवरिष्ठ नेता पौडेल

२५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारकाे कुशासनका कारणा जनताका आर्थिक सामाजिक अधिकार ओझेलमा पर्दे गएको टिप्पणी गरेका छन् ।

७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी विधेयकहरु अघि र नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेको बताएका छन् ।

नेता पौडेलले ओली सरकारका कुशासन र अव्यवस्थाका कारण नागरिकहरुमा आक्रोश बढ्न थालेलेपछि इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेको बताएका छन् । ओली सरकारको अर्कमन्यताका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्दै चिन्ता प्रकट गरेका छन् ।

यो परिस्थितिमा नेपाली नागरिकको अधिकारको रक्षाका लागि वर्तमान सर्वसत्तावादी चरित्र विरुद्ध शान्तिपूर्ण तवरले दृढताका साथ उभिनु र प्रतिगमनको कुनै पनि संभावनालाई निस्तेज पार्ने दोहोरो दायित्व सबै लोकतन्त्र र अधिकारवादीहरुमा आएको बताए ।

उनले अहिलेको अवस्थामा विगततर्फ फर्कने नभई, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्ने र यसका लागि सबै लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य आह्वान समेत गरेका छन् । उनले नेपाली नागरिकको मानव अधिकार रक्षाका आफु र नेपाली कांग्रेस हिजो पनि प्रतिवद्ध रहेको र आज पनि रहेको भन्दै आफ्नो सारा उर्जा नागरिकको मानव अधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा सदैव खपत हुने विश्वास दिलाएका छन् ।