राजनीति

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायोः अध्यक्ष दाहाल

२५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उनि अस्पतालमा उपचारार्थ थिए ।

विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जमिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०४८ को आमनिर्वाचनमा उहाँ जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् ।

आज दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् । अध्यक्ष दाहालले भने, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उनको अभावको महसुस गरेको छु ।”

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् । सरकारका मन्त्री तथा नेकपाका केन्द्रीय एवं जिल्लाका नेताकार्यकर्ताले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका नेता लामाप्रति विभिन्न माध्यममार्फत शोक व्यक्त गरेका छन् ।