२९ मंसिर, काठमाडौं । ओली सरकारको भ्रष्टाचार र अर्कमन्यताका बिरुद्धमा कांग्रेसको प्रदर्शन देशैभरी सुरु भएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ ।

कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सरकारविरुद्धको देशव्यापी प्रदर्शनका क्रममा सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा सम्बोधन गर्दैछन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दैछन् ।

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् । यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।






