राजनीति

मुलुकमा राजावादीहरु सलबलाउनुको प्रमुख कारण ओली सरकारः सभापती देउवा

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारका कारण राजाबालीहरु सलबलाएको टिप्पणी गरेका छन् ।

ओली सरकारको भ्रष्टाचार, अर्कमन्यताले  जनता दिक्क भएको कारण नै मुलुकमा अहिले राजा आउ देश बचाउ भन्दै प्रदर्शनहरुको भएको बताएका छन् । आज मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै  सभापती देउवाले राजाले प्रजातन्त्रलाई मास्न खोजेपछि हटाइएको स्पष्ट गर्दै अब राजा आउन सम्भव नभएको बताएका छन् ।

उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको बताएका हुन् ।

साथै उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको पनि बताएका छन् । देउवाले ओली सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवजार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको प्रति देउवाको कटाक्ष थियो ।