९ पौष, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अब बिघटित संसद ब्यूंताउन नेपाली काँग्रेस निर्बिबाद सडकमा उत्रिने बताएका छन् । काँग्रेसले बुधबारको बैठकबाट नै सरकारले संसद बिघटन गर्न गरेको सिफारिस र राष्ट्रपतिले गरेको बिघटन अबैधानिक भएको भन्दै असंबैधानिक कदमका बिरुद्धमा काँग्रेसले सडक संघर्ष गर्ने दाबी गरेका छन् ।
काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच काँग्रेसले संसद बिघटनका बिषयमा आन्दोलनमा जाने वा चुनावका लागि तयारी हुने बिबाद रहेको भन्ने कुराको खण्डन गर्दै उनले १३ गतेको आन्दोलनबाट संसद पुनस्थापनाका लागि घुडा टेकाउने बताए ।
नेता पौडेलले मंगलबारबाट काँग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकको निर्णयका बिषयमा कुरा गर्दै काँग्रेसले कति सिट ल्याएको छ ? र कति सिट ल्याउँछ भन्ने कुरा भन्दा काँग्रेसले लोकतन्त्र बचाउन, पद्धति बचाउन कतिको संघर्ष गरेको छ र गर्छ त्यो महत्वपूर्ण हुने दाबी गरेका छन् । उनले अबको काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक बिषयमा छलफल हुने भन्दै संबिधान बिरोधी गतिबिधिलाई निश्तेज पार्न आन्दोलन गर्ने निर्णय भईसकेको बताए ।





