१४ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान र विश्वासघात गरेको आरोप टिप्पणी गरेका छन् ।
दाहाल–नेपाल समूहले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा सम्बधोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै खनालले १४ वर्ष जेलमा बसेर आएको मान्छे केपी ओलीलाई पार्टी नेताका रुपमा खडा गरेपनि उनले पार्टीलाई भर्याङमात्रै बनाएकाले देश नै तहसनहस भएको आरोप लगाएका छन् ।
पटक–पटक जनताका पक्षमा काम गर्न सुझाव दिएपनि पार्टीले भनेका कुरा सुन्न छाडेको भन्दै उनी तानाशाही बन्न थालेको बताएका छन् ।
सम्बोधनका क्रममा खनालले ओलीले पार्टी विरोधी र जनविरोधी गुटको नेतृत्व गरेको भन्दै आफैले बनाएको संविधानमाथि विश्वासघात गरेको बताए ।





