१८ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजीत भएको छ ।
ओली र पुष्पकमल दाहाल–माधव कुमार नेपाल दुई समुहमा बिभाजीत भएको छ । दुई समुहमा बिभाजीत भएपछि दुई समुहको छुट्टा-छुट्टै भेला र बैठकहरु बस्दै आएका छन् । यसै क्रममा नेकपा ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ । यसअघि ओली समूहले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सुदूरपश्चिमका कार्यकर्ताको भेला गरेको थियो ।
संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । नेकपाको दाहाल-नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
दाहाल-नेपाल समूहले संसद विघटन प्रतिगामी कदम भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । ओलीले भने संसद पुनःस्थापना नहुने प्रष्ट पार्दै वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।





