२८ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका हुन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उहाँले कारबाहीको संकेत गरेका हुन् ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए ।
तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बतए ।
एमाले अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’
यस्तै ओलीले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । आफ्नो कार्यकालमा विकास-निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरेका छन् । सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको उनको आरोप थियो ।
नेपालले गरिब देश हुँदाहुँदै पनि अन्य समृद्ध देशको दाँजोमा कोभिड १९ महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको उनको दाबी छ ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एशिड आक्रमणकारी र बलात्कारीलाई दण्डित गर्ने कानूनलाई सरकारले अध्यादेशका रुपमा संसद्मा पेश गर्न खोज्दा विपक्षीहरुले भाँजो हालेको आरोप लगाएका छन् ।





