राजनीति

आजदेखि नेपाल-खनाल पक्षको राष्ट्रिय भेलाः ओली पक्षले दियो कारबाहीको चेतावनी

काठमाडौं चैत ४ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल-माधव कुमार नेपाल समूहले आजदेखि दुई दिने राष्ट्रिय भेला गर्दैछ ।

ललितपुरमा हुने भेलामा देशभरबाट २ हजार बढी नेता कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरेका छन् ।

भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका उनले जानकारी दिएका छन् । संस्थापनले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज गर्नुका साथै विभिन्न स्थानमा जिम्मेवारी समेत तोकेपछि नेपाल-खनाल समूह रुष्ट बनेको हो ।

प्रतिनिधिसभा विघटनयता नै प्रचण्डसँग मोर्चाबन्दी गरेको नेपाल समूह सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले ब्युँतेपछिमात्रै एमालेमा फर्किएको हो ।

खनाल-नेपाल समूहले पार्टी विधानविपरीत ओली अघि बढेर पार्टीलाई विभाजनतिर लगेको आरोप लगाउँदै आएको छ । यसैबीच खनाल-नेपाल समूहले राष्ट्रिय भेला बोलाएपछि संस्थापन पक्षले पार्टीको तर्फबाट त्यस्तो कुनै भेला नबोलाइएको स्पष्ट पारेको छ ।

महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट चैत ४ र ५ गतेका लागि कुनै भेला आह्वान नभएको र प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा अनाधिकृत गुटगत भेला नगर्न नगराउन, कसैले बोलाएपनि सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । त्यस्तो भेलामा सहभागी भएमा संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।