चैत्र २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन् । सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् ।
प्रधानमन्त्रीले बाहिर ’मिथ्यांक प्रस्तुत गर्दै’ मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।
थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्बाट भागेर नजान भन्दै चुनौती दिए । उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग गरे ।
थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए । मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको उनको भनाइ थियो ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले पटकपटक खानेपानी उद्घाटन गरेको, निर्माण सकिएको दुई वर्षपछि पनि पुलको उद्घाटन गरेको तथा काम बीचमा पुगेपछि विभिन्न योजनाको शिलान्यास गर्नु तमासा भएको थापाको भनाइ थियो । उनले शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राख्न खोजेका हुन् कि भनेर प्रश्न गरेका थिए ।





