समाचार

युवा पुस्ताका स्वास्थ्यकर्मीको उत्साह : कोभिडमा पनि सफल शल्यक्रिया हुँदै

दार्चुला । “हामी थकित छौँ, तर महामारीका बीच पनि सेवामा अवरोध नहोस् भन्ने हाम्रो प्रतिबद्धता कायम छ”, यो स्टाटस जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा आर्दश लिम्बूले जेठ १ गते लेखेका थिए । जतिबेला जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीले अस्पताल भरिएको थियो । अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको आइसोलेशन १५ शय्या भरिएपछि थप व्यवस्थापन गर्नुपरेको थियो ।

एकातिर कोरोना सङ्क्रमित भएर आउने बिरामी दिनानुदिन बढ्दै थिए भने अर्कोतिर जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामी पनि अस्पतालमै थिए । अहिले अस्पतालमा युवा पुस्ताका स्वास्थ्यकर्मीको टोली छ । तर दुवैतर्फ स्वास्थ्यकर्मी खटाउन पर्याप्त जनशक्ति छैन । अस्पतालको नेतृत्व गरेका एमडिजिपी डा लिम्बू आएयता जटिल प्रकृतिका शल्यक्रिया हुन थालेका छन् । जुन दिन उनले स्टाटस लेखे , त्यस दिन ७२ वर्षीय वृद्धको अण्डकोषको सफल शल्यक्रिया भएको थियो । वृद्धको शल्यक्रिया सफल भएपछि स्वास्थ्यकर्मीको उत्साह पनि थप बढेको हो ।

कोरोनाको दोस्रो चरण प्रवेश गरेयता अस्पतालमै चार सफल शल्यक्रिया भएका छन्, जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया असिस्टेन्ट बागेश्वरप्रसाद मिश्र (विपिन)ले भने, कोरोनाका बीच पनि हामीले शल्यक्रियाका काम पनि रोकेका छैनौं । जुन सामूहिक कामले सफल भएका छौँ । उनको टिमको सहयात्री छन्, मेडिकल अधिकृत नवीनकिशोर मल्ल, पूजा बम, जाफर अन्सारी, सुदूरपश्चिम प्रदेशबाट खटाइएका मेडिकल अधिकृत देवेन्द्र नेगी र एनेस्थेसिया असिस्टेन्टका रूपमा बागेश्वरप्रसाद मिश्र । सीमित स्रोत साधनकाबीच यो टिमको सामूहिक प्रयासले जटिल प्रकृतिका शल्यक्रिया सफल भइहेको उनीहरुको दाबी छ । मिश्रका अनुसार वैशाखयता बच्चा उल्टो भएकी गर्भवतीको सफल शल्यक्रिया भएको थियो । महिला जटिल अवस्था भएपछि मात्रै अस्पताल पुगेका थिए । अस्पतालमा शल्यक्रिया हुँदैन भन्ने लागेको थियो, तर पनि हाम्रो टिमले सफलता हासिल ग¥यो, उनले भने ।

यस्तै स्तनमा समस्या भएका महिलाको सफल शल्यक्रिया जिल्ला अस्पतालमै गरिएको छ । अहिलेको स्वास्थ्यकर्मीको सामूहिक प्रयासबाट जटिल प्रकृतिका शल्यक्रिया पनि सहजरूपमा हुने गरेको मिश्रको बुझाइ छ । हामी सामूहिकरूपमा छलफल गर्छौँ, उनले भने, “सकेसम्म जिल्लामै हुने कामलाई बाहिर सिफारिश गर्न चाहँदैनौँ ।” यसो त जिल्लामा एमडिजीपी लिम्बूले नेतृत्व गरेपछि तीन/चार वर्षयता रोकिएका शल्यक्रियाहरू हुन थालेका छन् । जुम्ल्याहा गर्भवतीको शल्यक्रियाका माध्यमबाट काम शुरु भएको थियो ।

हात भाँच्चिएर आएका बिरामीको शल्यक्रिया पनि जिल्लामै गरेका छौँ, जिल्ला अस्पताल दार्चुलाका डा लिम्बूले भने, “यो पनि धेरै समयपछि भएको छ । हर्निया, हाइड्रोसिल, एपेन्डिक्स सुन्निएका बिरामीको शल्यक्रिया यस बीचमा भएका छन् ।” वैशाखदेखि कोरोना निकै बढेको तर अस्पतालको थोरै जनशक्तिबाट शल्यक्रिया, कोरोना सङ्क्रमितको उपचार र नियमित बिरामीको उपचारसँगसँगै अघि बढाएका छौँ । हामीसँग भएको जनशक्ति अहिले पर्याप्त होइन । “तर पनि कोभिडमा सबै लागिरहेको बेला व्यवस्थापन गरेका छौँ”, मिश्रले भने ।

“अस्पतालसँग पर्याप्त भौतिक पूर्वाधार पनि छैन । अझै दक्ष जनशक्तिको व्यवस्थापन हुनसकेको छैन । आइसीयू र भेन्टिलेटर चलाउने जनशक्ति थप व्यवस्थापन हुन नसक्दा थोरै जनशक्ति लगाउनुपरेको छ”, डा लिम्बूले भने, “तैपनि अस्पतालले थप जनशक्ति व्यवस्थापनको प्रयास गरिरहेको छ ।”