चितवन । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन ।
चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन् । उनले भनिन् , “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उनी आफ्नो जागिरबाट राजीनामा दिएर मानव सेवामा लागेकी हुन् । जागिरबाट राम्रो कमाइ भएको भए पनि उनले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको बताइन ।
उनले भनिन , “शुरुमा चाउचाउ बिस्कुट बाँढेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उनले बताइन ।





