प्रदेश 1

बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि

खोटाङ । गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, साकेला गाउँपालिकाका ५४ तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका र बराहपोखरी गाउँपालिकाका नौ÷नौ जनाले सङ्क्रमण जितेका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

सात सय ७७ सक्रिय सङ्क्रमित रहेको जिल्लामा वैशाखयता पाँच जनाको मृत्यु भइसकेको छ । हाल दिक्तेल रुपाकोट मझुवागढीमा २६८, हलेसी तुवाचुङमा ११२, रावाबेँसीमा ६२, केपिलासगढीमा ४२, ऐँसेलुखर्कमा ६४, जन्तेढुङ्गामा २५, खोटेहाङमा ४९, साकेलामा ६०, दिप्रुङ चुइचुम्मामा ८० र बराहपोखरीमा १५ जना सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म तीन हजार २७८ जनाको एन्टिजेन र एक हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा एक हजार १६४ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा हाल एन्टिजेन र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । हालसम्म निषेधाज्ञा लागू नगरिएको खोटाङमा २४ स्वास्थ्यकर्मी, १० सुरक्षाकर्मी, छ जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमध्ये अधिकांश सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमितमध्ये २४ जना जिल्लाबाहिर सिफारिस भएका छन् भने ३४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

पिसिआर परीक्षणका क्रममा यही जेठ ६ गते सङ्क्रमण पुष्टि भएका रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौला र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका वडाध्यक्ष चइन्द्र राई भर्खरै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण पुष्टि भएपछि होमआइसोलेशनमा बस्नुभएका गाउँपालिका प्रमुख निरौलाको जेठ १८ गते गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

गाउँपालिका प्रमुख निरौलाको अनुभवमा सङ्क्रमण पुष्टि भएपछि भोक लाग्न छाड्नु, खान मन नलाग्ने, खाएको खानाको स्वाद थाहा नहुने, बान्ता हुन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो ।