२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहालले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा दहालले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए । उनले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको बताए ।
प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उनले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताए । उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।”
उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए। अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएकोको भनाइ थियो । उनले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताए ।





