११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताएका छन् ।
काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै थापाले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

नेता थापाले वर्तमान नेतृत्व सभापति शेरबहादुर देउवालाई परिवर्तन गर्नुपर्छ भन्नेहरु सबै एकजुट हुनुपर्ने संकेत गरेका छन् । पार्टीको नेतृत्व बदल्छु भनेर संकल्प गरेर मैदानमा आएका नेताहरूबीच एकता हुनु जरुरी छ नेता थापाले भने । गगन थापाले नेपाली जनताले अब भरोसा गर्न योग्य नेतृत्व आफुहरुले खोजिरहेको समेत बताएका छन् । उनले कांग्रेसको अबको नयाँ नेतृत्वले ३५ लाख मतदाताको विश्वास जित्नुपर्ने समेत बताएका छन् ।
साथै उनले संसारभरि लोकतान्त्रिक पार्टीहरूमा एक पटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि हारे\जिते विश्राम लिनुपर्ने अभ्यास रहेको भन्दै नेताहरूसँग आफूले त्यही आग्रह गरेको बताएका छन् ।
नेता थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लिएर पनि बोलेका छन् । उनले महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ मात्रै भइरहेको बताएका छन् । थापाले कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरेका छन् ।
कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कृष्ण सबुझ बानियाँले कांग्रेस सङ्गठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।
बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका थिए । साथै नेता थापाले नेतृत्व परिवर्तन आवस्यक रहेको बताएका छन् । १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।





