राजनीति

कार्यकर्तालाई सभापति देउवाको निर्देशनः जनताको विश्वास जित्नेगरी निर्वाचन केन्द्रीत हुनुस्

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । केही महिनाभित्रै स्थानीय तह र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका छन् ।

उनले पार्टीको आन्तरिक चुनावमा हुने हार, जित स्वभाविक र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह समेत गरेका छन् । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर नागरिकको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरेका छन् । साथै फरक प्रसंगमा सभापति देउवाले लोकतन्त्र बलियो भए मात्रै देश समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।