राजनीति

ओली सत्ता कब्जा गर्ने दाउमा छन्, कांग्रेस बलियो बन्नुपर्छः सभापति देउवा

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताएका छन् । नेपाल महिला सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गरेका छन् । साथै उनले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गरेका हुन् ।

पार्टीको १४औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताए । पार्टी विधानमा महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उनले यस्तो समावेशी पार्टी अरु कोही नभएको जानकारी दिएका छन् । उनले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताए । साथै उनले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराए । साथै सभापति देउवाले नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली सत्ता कब्जागर्ने दाउमा रहेको भन्दै कांग्रेस बलियो हुनुपर्नेमा जोड दिएका छन् ।