२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन ढिलाइ भएको छ । आज बिहान ८ बजेदेखि हुने भनिएको मतदान साढे १० बजेसम्म पनि सुरु भएको छैन ।

मतदान सुरु हुन अझै करिब एक घण्टा लाग्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताएका छन् ।

यसैबीच, सभापति पदका तीन उमेदवारहरू शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङले मतदान केन्द्रको निरीक्षण गरेका छन् ।


राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेर उनीहरूले तयारीको बारेमा जानकारी लिएका हुन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।


तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । मतदानपश्चात् आजै मतगणना सुरु गर्ने तयारी छ ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मत मागिरहेका छन् ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।





